जापान सरकारले नेपाललाई खाद्य सहयोगअन्तर्गतको समकक्षी कोषबाट रु. १० करोड ६४ लाख दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीका लागि खर्च गर्न अनुमति दिएको छ ।
नेपाल सरकारको अनुरोधमा जापानले रकम उपभोगको स्वीकृती दिएको राजधानीस्थित जापानी राजदूताबासले जनाएको छ ।
खाद्यान्न अभाव झेलिरहेका नेपालको हिमाली तथा पहाडी क्षेत्रका ३० वटा जिल्लामा नेपाल खाद्य संस्थानले तीनहजार तीनसय २९ मेटि्रकटन अन्न ढुवानीमा उक्त रकम खर्च गर्नेछ ।
खाद्य सहायताअन्तर्गत जापान सरकारको सहयोगमा स्थापना गरिएको उक्त कोषमा नेपालले चामल बेचेर रकम जम्मा गरेको थियो ।
आर्थिक तथा सामाजिक विकासका परियोजनाहरू सञ्चालन गर्न कोषमा रहेको रकम दुबै मुलुकबीचको परामर्शपछि उपयोग गर्न सकिने प्रावधान छ ।








