हिन्दुबादी दल भारतीय जनता पार्टीका नेताहरुले नेपालमा माओवादीको पछिल्लो गतिविधि र हिन्दु राष्ट्र नेपाल बनाउने विषयमा चासो ब्यक्त गरेका छन् । भारत भ्रमणमा रहनु भएका उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारसँगको भेटवार्ताको क्रममा उनीहरुले त्यस्तो चासो ब्यक्त गरेका हुन् ।
शनिवार विहान सो पार्टीका संसदीय बोर्डका अध्यक्ष एवम् बरिष्ठ नेता लालकृष्ण आडवाणी र गच्छदारविचको भेटमा पनि आडवाणीले त्यस्तो चासो राख्नु भएको थियो ।
भेटमा आडवाणीले माओवादीको पछिल्लो गतिविधिप्रति चासो राख्दै समयमै संविधान जारी हुन र शान्ति प्रक्रिया निश्कर्षमा पुग्नलाई त्यसले अप्ठ्यारो पार्ने नपार्ने भन्ने विषयमा जिज्ञासा राख्नु भएको थियो । त्यसैगरी आडवाणीले सयममै संविधान निर्माण हुनु पर्नेमा जोड दिदै त्यसकालागी दलहरुविच उच्च स्तरीय राजनीतिक सहमति कायम हुनु पर्नेमा जोड दिनु भएको थियो ।
सँगसँगै आडवाणीले नेपाललाई पुनः हिन्दु राज्य बनाउने बारेमा उपप्रधानमन्त्री गच्छदारसँग विशेष चासो राख्नु भएको थियो । प्रतिउत्तरमा उपप्रधानमन्त्रीले नेपालमा जनआन्दोलन पछिको अवस्थामा परिवर्तन आईसकेको जानकारी दिदै धर्मको सवालमा पनि नेपाली जनतामा परिवर्तन आईसकेको बताउनु भएको थियो ।
उपप्रधानमन्त्री गच्छदारले नेपालको राजनीतिमा ठुलै चुनौती रहेको बताउँदै त्यसलाई समाधान गरेर अगाडि बढन् सरकार तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उहाँसँग हिजै भाजपाकै अर्का नेता राजनाथ सिंहले भेटेर नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा विषेश चासो राख्नु भएको थियो ।
त्यसैगरि समाजवादी दलका अध्यक्ष मुलायमसिंह यादवले पनि आजै विहान उपप्रधानमन्त्री गच्छदारसँग भेटवार्ता गर्नु भएको छ । भेटमा मधेसमा जारी रहेको स-शस्त्र हिंसा नियन्त्रणको विषयमा छलफल भएको थियो । सिंहले पनि नेपालको राजनीतिक स्थायीत्वकालागि समयमै संविधान निर्माण र शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउनु पर्नेमा जोड दिनु भएको थियो । उपप्रधानमन्त्री गच्छदार भोली स्वदेश फर्किने कार्यक्रम रहेको छ । ऋषि धमला/नयाँ दिल्ली








