नेपालमा गजलको शुसुप्त अवस्थालाई माथि उठाउने अर्थात् इटाँ थप्ने काम ज्ञानुवाकर पौडेलले गरे । विगत पच्चीस वर्षदेखि गजलको उत्थान, सम्वर्द्धन र संरक्षणमा जुटिरहेका ६२ वर्षिय गजलकार पौडेल आफूलाई गजलका “माली” भन्न रूचाउछन् । उनले १८ वर्षसम्म रेडियो नेपालमा जागिर खाए जागिरबाट अवकास पाएपछि पनि गजल लेखनमै व्यस्त रहे । उनै गजलका माली पौडेलसँग गरिएको कुराकानी
० नेपालमा गजलको प्रारम्भिक अवस्थाका बारेमा भन्नुपर्दा ?
- नेपालमा गजलको प्रारम्भको कुरा गर्दा मोतिराम भट्टको सह्राना गर्नु पर्छ । उनको पालामा भारतमा उनका समकालीन भारतेन्दु हरिशचन्द्रले चलाएको गजल अभियानबाट मोतिराम प्रभावित बनेका थिए । भारतमा उर्दु भाषा र अंग्रेजी भाषाको बोलवाला भएको बेला उर्दुमा लेखिने गजललाई हिन्दीमा लेखिने अभियान सुरू गरेपछि मोतीराम भट्टले पनि नेपालमा नेपाली भाषामा गजल लेख्नु पर्ने कुरा अघि बढाएका हुन् । उनले मित्र मण्डली र समकालीन गजल प्रेमीहरू गोपीनाथ लोहनी, नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, मिया अन्जत हुसैन गजपहरूसँग बसेर गजलका बारेमा तालिम दिए । वनारस बस्दा भारतेन्दु हरिशनचन्द्रसँग सिकेका गजल लेखनलाई नेपालमा पनि भित्र्याए । तर त्यतिबेला जहाँनियाँ एकतन्त्र शासन व्यवस्था भएको हुँदा कविता, कथा र गजल लेखनमा निगरानी गरिन्थ्यो । अर्थ खोजेर सजाय दिने परिपाटी थियो । त्यस्तो अवस्थामा पनि मोतिराम भट्टले गजलको प्रारम्भिक अवस्थालाई निक्कै संघर्षका साथ अघि बढाएका हुन् । गजलको त्यो परम्परा भिमनिधि तिवारीसम्म रह्यो । भिमनिधि तिवारी कथा कविता निवन्ध लेख्नतिर बढी केन्दि्रत भएको हुँदा गजललाई त्यति ध्यान दिन सक्नु भएन । लगभग ४० वर्ष सम्म गजल सुशुप्त अवस्थामा नै रह्यो ।
त्यपछि २०३५ सालमा गजल फेरि जुर्मुराएर उठ्यो । र पुनर्जागृत भयो । अहिले यो बामे या हिडिरहेको मात्र छैन दौडिन थालेको छ ।
० गजलको हालको अवस्थालाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
- अहिले दौडिने क्रमसँगै गजल लोकप्रीय मात्र भएको छैन, लोकपि्रयतासँगै यसमा अनेकौं विकृति पनि प्रवेश भएको छ । विगत पञ्चायतकालसम्म जगलमा भन्नु पर्ने कुराहरू सोझै नभनेर विम्ब, प्रतीक, विम्वोक्ति प्रयोग गरेर छद्मरूपमा लेखिन्थ्यो । प्रतिकारात्मक भाषामा लेखेर हामी जोगिने गथ्र्यो । जोगिने एउटा आधार खोज्थ्यौं । अहिले त छाडापन आयो । जे जसरी लेखे पनि हुन्छ भन्ने संस्कृतिको जन्म भएको छ । मेहनत गर्ने बानी हटेको छ । कलात्मक गजलहरू ज्यादै कम मात्रामा देखिन्छन् । गजल गुणात्मक रूपमा आउन सकेका छैन । तर, पनि निराश नै हुनु पर्ने स्थिति भने छैन । सन्तोष गर्ने ठाउँ छ । उत्साह जगाउन विचारले प्रवेश पाउनु पर्यो । गजलमा विचार समावेश हुनुपर्यो । गजलमा नियम छ । नियममा बाँधिएर मात्र गजल गजल हुन्छ । गजलमा ठोस कुरा दिन सक्नु पर्छ । गजल लेखनमा अनुभव सम्मत हुनुपर्छ । तब गजलले गुणात्मक गति लिन सक्छ ।
० गजलमा महिलाको उपस्थिति कस्तो छ ?
-गजलमा महिलाको उपस्थिति बढ्न थालेको छ तर पुरूषको अनुपातमा ज्यादै कम छ । उनीहरूको लेखन स्तर पनि राम्रै छ । तर, पनि निरन्तरता नदिने प्रवृत्ति महिलामा छ । घरको काम, बच्चा स्याहार गर्नुपर्ने, जागीर खानुपर्ने जस्ता कुराले पनि महिलाहरू गजलमा सशक्त रूपमा आउन सकेका छैनन् । देश बाहिरबाट आउने निम्ताका लागि महिला गजलकारका बारेमा झट्ट नाम लिन सकिदैन । यसका पछाडि हाम्रो सामाजिक संरचनाले पनि काम गरेको छ । पुरूषहरू जागिरबाट आउनासाथ चियाको अर्डर गर्दै रिमोट हातमा लिने र अखबारमा व्यस्त हुने प्रचलित परम्परा छ । महिलालाई त्यो किसिमको वातावरण उपलब्ध हुन नसक्दा पनि रचनामा समय दिन नपाएको बुझिन्छ । बाध्यता यहाँनेर छ । महिलामा प्रतिभाको कमी भएर उनीहरू गजल सृजना र वाचनमा पुरूषभन्दा पछि परेका होइनन् । महिलाहरू मनबाट काम गर्छन् भने पुरूषहरू बुद्धिबाट । प्राकृतिक रूपमै महिलाहरू भावनाबाट संचालित भएका हुन्छन् । हामी पुरूषहरू चाहि दिमागबाट व्यवहार गर्छौ । मनोवैज्ञानिक जटिलता यहाँ छ । झगडा पर्ने कारण पनि यही हो जस्तो लाग्छ । व्यवहारमा पनि यही प्रवृत्तिले ठाँउ लिदा महिलाका लेखन कार्य निरन्तर हुन पाउँदैन । अभिभावक, प्रेमी साथीका रूपमा पुरूषसँगको सहकार्य पाएमा मात्र महिलाले उन्नति गर्न सक्दछन् । जति घमण्ड गरे पनि प्राकृतिक रूपमा महिलाका अवस्था र स्वभावले गर्दा एक्लै चाँहि कहिल्यै अघि बढ्न सक्दैनन् अपवादलाई छोडेर ।
० गजल हाँक्ने अग्रज गजलकारका नाउँ लिनु पर्दा कसलाई सम्झनु पर्छ ?
- मनुबज्राकी बुँदराना, राजेन्द्र थापा, ललिजन रावल । राजेन्द्र थापा गीतमा म भन्दा अग्रज हुनुहुन्छ । “पोहोर साल खुशी फाट्यो” चर्चित गीत अरूणा लामाको स्वरमा उहाँका शब्द सुन्न सकिन्छ । तर गजलमा उहाँ मलाई अग्रज मान्नुहुन्छ । सबैले मलाई ‘वाईनियर’ भन्ने गरेको पाउँछु ।
० गजलमा झट्ट महिलाको नाउँ लिनु पर्दा चाहिँ ?
- श्रेष्ठ, पिया पत्थर, सुमित्रा वाङ्गदेल चोली, आदिलाई लिन सकिन्छ । नयाँ पुस्तामा ईश्वरी कार्कीलाई लिन सकिन्छ ।
० गजललाई संगीतमा ढाल्ने कामले व्यापकता पाउँदै छ नि ?
- सुरूआत भएकोछ । यो सकारात्मक हो । लोकपि्रयता पनि पाएको छ । तर सस्तो लोकपि्रयता गजलमा आउनु भएन । जगलमा शब्दको जादु देखाउने चटक हो, उत्कृष्टताको आधार लोकपि्रयता हुन सक्दैन । क्षणिक लोकपि्रयताको लागि अमौलिक हुनुभन्दा बरू मौलिक भएर लोकपि्रय नहुनुमै कल्याण छ । मौलिक भएमा कालान्तरसम्म त्यसको इतिहास बन्न सक्छ ।
० तपाईका गजल गाइएका पनि छन् होइन र ?
- आनन्द कार्की, वसन्त खड्का, शक्ति वल्लभले गाइसकेका छन् । लोचन भट्टराई सत्यरूपले मेरो गजल गाउने तयारी गरिरहेका छन् । तर मैले आफैले चाहि गजल गाएको छैन । म गजल लेख्छु मात्र ।
० पछिल्लो समयमा तपाईको कुन गजल प्रसारण भएको छ ?
- आनन्द कार्कीले गाएको छाडेर जाँदैछु म यो सहर पर्ख दुई चार दिन, बसन्त खड्काले गाएको
अब गीत गाउने पालो तिम्रो
सुरमा सुर मिलाउने पालो तिम्रो
पच्छ्याउन सम्म तिमीलाई पच्छ्याएको छु
यो ज्ञानुलाई रिजाउने पालो तिम्रो
शक्ति बल्लवले गाएको
ओइली झरेछ फूल टिपेर हेरे
एफएममा आजकल नबजेको दिनै छैन ।
० कस्तो लाग्छ आफ्ना रचना संगीतमयी बनेर प्रसारण हुँदा ?
- रमाईलो लागिरहेको छ । जुन भावनामा बगेर लेखे गायकहरूले पनि त्यसलाई मन पराइ दिएर मूर्त रूप दिन सकेका छन् । श्रोताहरू पनि जगलको भावभन्दा पनि गायकको स्वरमा ध्यान दिईरहेका हुन्छन् । गजललाई गायकको स्वर उधारो लिनुपर्ने अवस्था पनि आएको जस्तो छ ।
० जहिले पनि संगीत क्षेत्रमा रचनाकार छायाँमा पर्छन् तपाई के भन्नु हुन्छ ?
- भारतमा नब्बे प्रतिशत ख्याती पाउँछन् रचनाकार, शब्द निर्माताले । दश प्रतिशत गायक र संगीतको भाग हुन्छ । उदित नारायणले त्यसै भनेका छन् । तर नेपालमा नब्बे प्रतिशत हिस्सा गायकले ओगट्छ ।
० निक्कै रोमान्टिक गजलहरू लेख्नु हुन्छ नि ?
- रोमान्टिक गजलमा धेरै लेख्दिन । संगीतकार गायकहरूको डिमाण्ड को आधारमा लेख्छु कहिलेकाहीँ । म प्रेमको मामिलामा धेरै अभागी मान्छे हुँ । अरू कविहरू जस्तो मैले रोमान्टिक जीवन बिताउन पाइन । सामाजिक तिक्तता म जगलमा पोख्छु ।
० पछिल्लो समयमा द्वन्द्व र हिंसाको बारेमा गजल लेख्नुभयो ?
- अधिकांश गजल लेखेको छु यी विषयमा ।
० भित्रभित्रै रोइ बाहिर हाँस्न सिकायो कसले ?
मूर्दा यो जीवन बाँच्न सिकायो कसले ?
स्वभिमानी थिएँ म विहान घरबाट निस्कँदा,
अपमानित भई बेलुकी र्फकन सिकायो कसले ?
जन्माउनुपर्छ अब एउटा अर्को, जिउँदो सहिद हुर्काउनुपर्छ,
गुँइठा बनेर तिमीलाई भित्रभित्रै सल्कन सिकायो कसले ?
मुर्दासरी यो जीवन बाँच्न सिकायो कसले ?
गजलमा मैले बेग्लै धार बनाएको छु । खुसी लाग्छ यी धार पछ्याउने ठूलो जमात पाएको छु मैले ।
० तपाई त गजल गुरूका रूपमा पनि परिचित हुनुहुन्छ शिष्यहरूका बारेमा तपाईले बोल्नु पर्दा ?
- पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म छन् मेरा शिष्यहरू । देशबाहिर आसाम, सिक्किम, दार्जिलिङ्ग, बनारससम्म छन् चेलाचेलीहरू । साहित्यिक कार्यक्रम गर्ने क्रममा उनीहरूले बोलाउँछन् । दार्जिलिङ्ग, सिक्किम, कालेम्पुङ्ग देहरादुनसम्म जगल कार्यक्रममा बोलाएका छन् । कार्यक्रम प्रस्तुत भएका छन् ।
० यतिका सम्मान पाउनु भएको छ कुन सम्मानले ज्यादै कृतज्ञ बनाएको छ तपाईलाई ?
- राष्ट्रिय प्रतिभा पुरस्कार साझा प्रकाशनले दिएको साझा पुरस्कार गरिमा सम्मान, प्रेस काउन्सिल पुरस्कार, बसुन्धरा पुरस्कार, पुष्टिन एवार्ड, सूर्योदय सम्मान, कति नाउ लिनु म । धेरै सम्मान पाएको छु । सबै उत्तिकै महत्वपूर्ण छन् । सबैबाट कृतज्ञ छु ।
० देश बाहिर पनि जानु भएको छ नि ?
- भारत, र तिब्बत खासासम्म गएको छु । बोलाइएको थियो अस्ट्रेलिया अमेरिकाबाट तर भिषा दिएनन् । मलेसियाबाट बोलाएका छन् । जाने व्यवस्था मिलाउँदै छौं ।
० पाठ्यक्रममा कविता जस्तो गजलले स्थान पाएको छैन नि ?
- यसपाली देखि वी.ए.को पाठ्यक्रममा गजल समावेश भएको छ । मोतिराम भट्ट, उपेन्द्रबहादुर जिगर, महेन्द्रजंग रावल, धिरेन्द्र त्रिपाठी र मेरो पनि परेको छ । ओइली झरेछ फूल टिपेर हेरें भन्ने शक्ति वल्लवले गाउनु भएको गजल परेको छ । यस कामका लागि हामील्े धेरै संघर्ष गरेका छौं । निजी स्लुकमा अघि देखि नै गजल राखिएको थियो ।
० रेडियो नेपालको १८ वषर्ीय जागिरमा गजललाई कसरी लिएर जानुभयो ?
- साहित्यिक कार्यक्रम सञ्चालन गर्ने मित्रहरूबीच कार्यक्रममा भेटघाट हुँदा, गजलका कुरा हुन्थे, निक्कै चासो राखिन्थ्यो । कार्यक्रममा म लगायत मैले सिफारिस गरेका केही साथीहरूका गजल वाचन गरिन्थ्यो । उनीहरूका अन्तर्वार्ता प्रसारित भए । रेडियो नेपालबाट २०४७ साल असार १५ गतेबाट साहित्यिक कार्यक्रममा गजलको प्रसारण सुरूवात भएको हो । अभियानकै रूपमा त्यहीबाट मात्र गजलले प्राथमिकता पाएको छ । यद्यपी मोतिराम भट्ट, सेतुराम आदिका गजल गीतका रूपमा प्रसारण नभएका होइनन् । जे होस साथीहरूको सहयोग मैले त्यतिबेला पाएको हुँ । अहिले पनि गजलगंगा भन्ने कार्यक्रम संचालित छ । नवीन दाहाल, निलम कार्की निहारिका, रमेश पौडेल आदिले हुर्काइरहनु भएको छ गजललाई ।
० गजललाई विकृतबाट मुक्त गर्न के गर्नु पर्ला ?
- मेहनत गर्नु पर्यो । गजल नाम कमाउने साधन होइन यसलाई साधना बनाउनु पर्यो । यसलाई दृढकालीन साधनाका रूपमा लिएर जानुपर्छ । गजल बुझेर लेख्नुपर्यो । सेवाभावना लिएर साधना बनाउनु पर्यो । बुझेर लेख्नु भनेको, छन्द विधानमा मात्र ध्यान दिएर पनि पुग्दैन त्यसमा विचार पनि दिनुपर्यो । के आधारमा गजल उत्कृष्ट ठहर्छ त्यसमा ध्यान दिनु पर्छ ।
० अब गजल कसरी उत्कृष्ट हुन सक्ला त ?
- भाइबहिनीलाई मैले सल्लाह दिंदै पनि आएको छु । राम्रो गजल लेख्नलाई युवापुस्ता संगठित भएर अभियानका रूपमा अघि बढ्न सक्नोस् भन्दै पनि आएको छु । म त गजल सम्राट होइन नी । माली मात्र हुँ । बगैंचामा सबै फूल बराबर हुने गर्दछ मेरो लागि । म संगठन खोलेर बस्न सक्दिन । अब युवा पुस्ताको पालो हो । यसलाई विकृतिबाट बचाउन र उत्कृष्ट रचना दिन सल्लाह दिन सक्छु । बाँकी काम नयाँ पुस्ताको हो ।








