अन्तर्राष्ट्रिय नारी दिवस एवं रङ्कको महान पर्व होलीको उपलक्ष्यमा नेपाली नारी निकुञ्ज तथा नेपाली छात्र संघ जनमैत्री विश्वविद्यालय (मास्को) को संयुक्त आयोजनामा वृहत् च्यारिटी साँझ सुसम्पन्न भयो।
सांस्कृतिक साँझको उद्घाटन कार्यवाहक नेपाली राजदूत अच्युतभक्त पौडेल र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संरक्षक एवं निवर्तमान संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतोबाट पानसमा दीप प्रज्ज्वलनद्वारा भएपछि नेपाली भाषा तथा संस्कृति केन्द्रका छात्रछात्रा लगायत स-साना नेपाली बालबालिकाहरू नेपालका विभिन्न जनजातिहरूको पहिरनमा करतलध्वनिका साथै मञ्चमा लामबद्ध भए । मनीष तथा अनुश्काबाट ‘छात्र-छात्राहरू हामी अभिवादन गर्दछौं ! सबै मिलीजुली आज राष्ट्रिय-गान गाउँछौं !’ भनी लयात्मक उदघोषणा गरिनासाथै दर्शकहरू समेत सबैले उभिएर समवेत स्वरमा गाएको राष्ट्रिय गानले इन्टर-क्लब गुञ्जायमान भयो ।

त्यसपछि कृति र दविकाबाट ‘शुभारम्भ गरौं होली - वसन्तोत्सव आज यो ! झाँकी प्रस्तुत गर्दैछौं अब मङ्गल-नृत्यको !!’ भनेर उद्घोषणा हुनासाथै संस्कृत भाषाको मङ्गलाचरणको धूनमा आन्जालिका, मार्गारिता र भेरोनिका दिदीबहिनीत्रयबाट प्रस्तुत गरियो । यसरी नै दर्शक सज्जनहरूलाई कवितामै सम्बोधन गरेर अनुश्का, दविका, युक्ति, अनुराग, अनुकृत, मनीष, समिरा, निकिता, जयेश, बिक्रम, कृति, यज्ञ, आन्जेलिका, मार्गारिता, भेरोनिका, आन्तोन, सोफिया समेत सबै नेपाली बालबालिकाहरूले ‘मनाउँछौं मिली हामी नाचगान गरी अब ! नारी-दिवसका साथै रङ्गको यो महोत्सव !!’ भन्ने उद्घोषणपश्चात् गीतात्मक बालखेल, नाचगान, रुसी र नेपाली गीतका साथै एउटा प्रहसन समेत प्रस्तुत गरेका थिए । मनिषवरुण सिंहद्वारा प्रस्तुत आधुनिक नृत्य निकै आकर्षक र उच्चकोटिको रहेको थियो ।
सांस्कृतिक साँझको औपचारिक खण्डको आरम्भमा नेपाली नारी निकुत्तजकी अध्यक्ष डा. समता प्रसादले नेपाली राजदूतावास परिवारलगायत रूसमा कार्यरत सबै नेपाली संघसंस्थाका पदाधिकारीहरू र सदस्यहरूलाई सपरिवार उपस्थित भई सयौं अन्तर्राष्ट्रिय नारी दिवस तथा परम्परागत होलीको सन्दर्भमा आयोजित वृहत् च्यारिटी साँझको शोभा बढाइदिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै निम्तो स्वीकार गरी नेपालबाट आइरहनुभएकी प्रसिद्ध गायिका सिन्धु मल्ललाई रूसको राजधानीमा हार्दिक स्वागत गर्नुभयो । उहाँले अन्यायको विरुद्ध र आफ्नै कमजोरीको विरुद्ध समेत सत्याग्रहको परिभाषा दिंदै एक शताब्दीको संघर्षपश्चात् पनि नारीहरूले समानाधिकारको लागि अझै पनि संघर्ष गरिरहनुपरिरहेको अभिव्यक्ति दिनुहुँदै नारीहरूमा नै परिवारको उज्ज्वल भविष्य सम्भव हुने कुरामा जोड दिंदै रङ्गको उत्सवको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

कार्यवाहक राजदूत अच्युतभक्त पौडेलले परम्परागत होली पर्वको महत्वबारे प्रकाश पार्दै ‘विदेशमा रहेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्न’ नेपाली नारी निकुञ्जका साथै नेपाली विद्यार्थीहरूले जुन अथक प्रयास गरेका छन् त्यसकालागि कृतज्ञता जनाउँदै ‘संस्कृति नै समाजको अग्रणी हो, संस्कृति बचाएनौं भने जीवनको केही महत्व हुँदो रहेनछ’ भन्नुहुँदै ‘संस्कृति जोगाउनु नै नेपालीहरूको काम हो’ भनी जोड दिनुभयो । गैरआवासीय नेपाली विश्वसंघका संरक्षक एवं रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका अध्यक्ष डा उपेन्द्र महतोले होली र नारी दिवसको उपलक्ष्यमा महिलाहरूप्रति शुभकामना व्यक्त गर्दै अंशतः ‘तपाईंहरूको मुस्कान नै नारी सम्मान र अधिकारको ब्यारोमिटर हो’ भन्नुहुँदै ‘महिलाहरूको मुखमा भित्रबाटै आएको वास्तविक मुस्कानको लागि प्रयत्नशील रहन’ पुरुषवर्गलाई आहृवान गर्नुभयो । नेपालको सम्पन्न संस्कृतिका अन्तर्निहित भावहरूलाई आत्मसात गरेर ‘आफ्ना सन्ततिलाई सिकाएर आफूले पनि सिक्यौं भने हामी यो पहाडी, यो मधेसी, यो बाहुन, यो क्षत्री भन्ने प्रश्न पनि उठ्दैन’ भन्ने जनाउँदै उहाँले ‘गैरआवासीय अभियानमा हामी मास्कोवासी, रूसवासीको ठूलो भूमिका र दायित्व’ भएको चर्चा गर्नुका साथै मानसिक रूपमा सशक्त भई ‘सुन्दर नेपालको आर्थिक विकास गर्नु छ र गर्न सक्छौं’ भनी जोड दिनुभयो । गैरआवासीय नेपाली विश्वसंघका उपाध्यक्ष जीवा लामिछानेले ‘नारीलाई सम्मान गर्नुपर्छ भन्ने कुरा हाम्रो संस्कृतिमा छ’ भन्दै अधिकार र स्वतन्त्रताको पनि एउटा सीमा हुने चर्चासहित ‘जति पचाउन सक्नुहुन्छ त्यति स्वतन्त्रताको उपयोग गर्नुहोस्’ भनी महिलावर्गलाई नारीदिवसको शुभेच्छा व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, रूसका अध्यक्ष मणिराज पोखरेलले वर्णाश्रमकालदेखि नै गुरुपूणिर्मा अध्ययन-अध्यापनमा संलग्न गुरुवर्गको, बडादशैं देशरक्षक वर्गको, लक्ष्मीपूजा बन्दव्यापार र कृषिमा संलग्न वर्गको र जीवनमा इन्द्रेनीको नवरङ्ग अवतरित होली र हुने फागुपूणिर्मा आफ्नो पसिना बगाएर बाँच्ने श्रमिक वर्गको चाड रहेको स्मरण गराउनुका साथै अन्तर्राष्ट्रिय नारी दिवस चाहिं नारी-स्वतन्त्रताका लागि ठीक एक शताब्दीअघि कोपेनहागेनमा घोषित गरिएको र हाल संयुक्त राष्ट्रसंघबाट समेत मान्यता प्राप्त उत्सव भएको उल्लेखसहित शुभेच्छा ज्ञापन गर्नुभयो । उहाँले राजाराम चौधरी तथा कृष्णसुन्दर भेलेको सहयोगबाट गैरआवासीय नेपाली संघ रूसका सदस्यहरूको परिचयपत्र तैयार भइसकेको सूचना दिनुहुँदै नेपाली राजदूत सूर्यकिरण गुरुङको नामको पहिलो परिचयपत्र उहाँ नेपाल गइरहनुभएको हुँदा अच्युतभक्त पौडेललाई हस्तान्तरण गर्नुका साथै विभिन्न संघसंस्थाका अध्यक्षहरू तथा केही विशष्टि व्यक्तिहरूलाई तत्काल हस्तान्तरण गर्नुभयो । आजीवन सदस्यताको परिचयपत्र प्राप्त गरेर यो पंक्तिकार फुरुङ्ग परेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रूस शाखाका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठले साहित्यिक भाषामा भावाभिव्यक्ति प्रकट गर्नुभएको थियो भने नेपाली खेलकूद तथा सांस्कृतिक समाजका अध्यक्ष खेम लामिछानेले सरल भाषामा मन्तव्य राख्नुभएको थियो ।
वृहत् च्यारेटी साँझको आयोजकमध्ये एक नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष डा. सचिन शाक्यले इन्टर-क्लबमा नेपालबाट आइरहनुभएकी लोकपि्रय गायिका सिन्धु मल्लको स्वागत गर्न पाइएकोमा हर्षोद्गार प्रकट गर्नुका साथै डा. उपेन्द्र महतोबाट उत्कृष्ट नेपाली छात्रहरूलाई हरेक साल छात्रवृत्ति प्रदान गर्ने परम्परा थालिएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो ।
औपचारिक खण्डको समाप्तिपश्चात् जनमैत्री विश्वविद्यालयमा अध्ययनरत अनिता लामा तथा किसन भण्डारीको कुशल उदघोषणामा वृहत् सांस्कृतिक कार्यक्रम सुरु भयो । जनमैत्री विश्वविद्यालयका छात्रछात्रा प्रतीक्षा मानन्धर, सुभेच्छा महर्जन, रुबी महर्जन, प्रशंसा उलक, मदन महर्जन, प्रणिल प्रधान, सन्तोष गुरुङ, अमर तामाङ्गका साथै मास्को मेडिकल एकेडेमीका विद्यार्थी गौरव कटवाल, समीर दवाडी तथा ब्रान्डेन दे क्रुज लगायतका विद्यार्थी कलाकारहरूले आ-आफ्ना प्रस्तुतिसहित क्रमशः मञ्चमा प्रवेश गरेका थिए । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूको गायन तथा नृत्यको झाँकी निकै रोचक रहेको थियो ।
कार्यक्रमको मध्यान्तरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसअन्तरगत छात्रवृत्ति समितिका संयोजक गोविन्दप्रसाद गौतमले रूसमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले डा. उपेन्द्र महतोले आफ्नी दिवंगत मुमा फुलकुमारी महतोको सम्झनामा उत्कृष्ट विद्यार्थीहरूलाई गतः वर्षदेखि हरेक वर्ष होलीको कार्यक्रममा छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएअनुसार यस वर्षका उत्कृष्ट विद्यार्थीहरूको नामावली घोषित गर्नुभएपछि मञ्चमा आएर रसियाली जनमैत्री विश्वविद्यालयमा अध्ययनरत मनोजप्रसाद कुशवाहा (चौथो वर्ष), सुभेच्छा महर्जन -प्रथम वर्ष), प्रतिसरा मानन्धर (प्रथम वर्ष), प्रशंसा उलक (प्रथम वर्ष) एवं मास्को मेडिकल एकेडेमीमा अध्ययनरत विमला बनाया (पाँचौं वर्ष), स्मृति श्रेष्ठ (पाँचौं वर्ष) उमेशप्रसाद भट्टराई (प्रथम वर्ष) तथा त्वेर राजकीय मेडिकल एकेडेमीमा अध्ययनरत विनायक अर्याल (प्रथम वर्ष), सुमित रौनियार -प्रथम वर्ष), सुबास थापा (प्रथम वर्ष), सुझु जमरकट्टे (प्रथम वर्ष), सन्तोष अधिकारी (पाँचौं वर्ष), रामकृष्ण दाहाल (पाँचौं वर्ष) का साथै निरज ढुङ्गेल (पाँचौं वर्ष, दोन राजकीय प्राविधिक विश्वविद्यालय) एवं रोमन बज्राचार्य (समारा एरो(कस्मस विश्वविद्यालय, तृतीय वर्ष) लाई छात्रवृत्ति पुरस्कार प्रदान गर्नुभयो ।
यस वर्ष जनमैत्री विश्वविद्यालयको इन्टर-क्लकमा आयोजित सांस्कृतिक कार्यक्रमको विशेष आकर्णण थियो नेपालकी लोकपि्रय गायिका सिन्धु मल्लको प्रस्तुति । उहाँले लोकपि्रय गीतहरू प्रस्तुत गर्नुहुँदा युवा-युवती दर्शकहरूले आ-आफ्नै स्थानमा नाचेर खुशी व्यक्त गर्नुका साथै पटक-पटक दोहोर्याउने आग्रह समेत गरेका थिए । सांस्कृतिक कार्यक्रमको अन्त्यमा नेपाली नारी निकुञ्ज र नेपाली छात्रसंघको तर्फबाट गायिका सिन्धु मल्ललाई मास्कोको चिनोस्वरूप सुभिनियर उपहारका साथै कृतज्ञता ज्ञापनपत्र प्रदान गरिएको थियो । उक्त कृतज्ञता ज्ञापनपत्रमा अंशतः भनिएको छ नेपालबाट आउनुभएकी सुप्रतिष्ठित गायिका श्रीमती सिन्धु मल्ललाई रूसको राजधानीमा यो कृतज्ञता-पत्र प्रदान गर्न पाउँदा ज्यादै हषिर्त छौं…। तपाईको स्वागत गर्ने सुअवसर प्राप्त भएकोमा रूसमा रहेका सम्पूर्ण नेपालीहरू गौरवान्वित भएको कुरा पनि अवगत गराउन चाहन्छौं । आफ्नो सुमधुर स्वर र उत्कृष्ट कलाकारिताद्वारा तपाईंले मास्कोमा यस वर्षको सांस्कृतिक कार्यक्रमको रौनक निकै बढाइदिनुभएको छ । तपाईको यस यात्राबाट नेपाल र रूसबीच सांस्कृतिक सम्बन्ध विकासमा पनि विशेष योगदान पुग्ने आशा राखिन्छ । यति टाढासम्म आई तपाईंले रूसमा रहेका नेपालीहरूका साथै तिनका रसियाली मित्रहरूलाई समेत नेपाली गायन र अभिनय-कलाबाट अवगत हुने मौका दिनुभएको कुरा विशेष उल्लेखनीय छ । हरेक सिर्जनात्मक कार्यमा तपाईलाई उत्तरोत्तर सफलता मिलोस् भन्ने कामनासहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं’ ।
यस प्रकार उल्लासपूर्ण वातावरणमा अन्तर्राष्ट्रिय नारी दिवसको सयौं वर्षगाँठ तथा नेपालीहरूको परम्परागत वसन्तोत्सव होलीको सन्दर्भमा…आयोजित वृहत् सांस्कृतिक सांझ सफलतापूर्वक सुसम्पन्न भएको छ । कृष्णप्रकाश श्रेष्ठ/मास्को








